झुलन रेग्मी 

मेचीनगर / कृषि नेपाली अर्थतन्त्रको प्रमुख आधार हो । देशको ठूलो जनसंख्या अझै पनि कृषिमा निर्भर रहेको अवस्थामा कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउने चुनौती सबै तहका सरकारका लागि महत्वपूर्ण विषय बनेको छ ।

Messenger_creation_92777AC1-EB01-4DCC-ACEC-06E5D23E5B15

पछिल्ला वर्षहरूमा स्थानीय तहहरूले कृषि क्षेत्रमा प्रविधि विस्तार, अनुदान कार्यक्रम, सिँचाइ पूर्वाधार निर्माण तथा किसानको क्षमता अभिवृद्धिमा जोड दिएका छन् । यसै क्रममा झापाको मेचीनगर नगरपालिकाले कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको छ, जसको सकारात्मक प्रभाव किसानको उत्पादन, आम्दानी र कृषि गर्ने शैलीमा देखिन थालेको छ ।

Messenger_creation_3315A77B-30A9-43BC-9BA8-E5DB77C68B13

मेचीनगर–९ का अगुवा किसान इन्द्र पाठक आधुनिक कृषि प्रविधिको प्रयोगले खेतीपातीमा ठूलो परिवर्तन ल्याएको बताउँछन् । विगतमा परम्परागत तरिकाले खेती गर्दा धेरै समय, श्रम र लागत खर्च हुने गरेको स्मरण गर्दै उनले अहिले विभिन्न कृषि औजार र प्रविधिको प्रयोगले काम निकै सहज बनेको बताए ।

Messenger_creation_40DD3ADB-D3C3-435F-A781-A5BDB1281732

उनले भने, “पहिला खेत जोत्न, मल हाल्न वा बाली भित्र्याउन धेरै जनशक्ति आवश्यक पथ्र्यो । अहिले हाते ट्याक्टर, मकै छोडाउने मेसिनलगायतका उपकरण प्रयोग गर्दा समय पनि बचत भएको छ र उत्पादन लागत पनि घटेको छ । प्रविधिको प्रयोगले खेतीलाई सहज मात्र बनाएको छैन, युवाहरूलाई पनि कृषिप्रति आकर्षित गराएको छ ।”

कृषि क्षेत्रमा बढ्दो यान्त्रीकरणले किसानको श्रम घटाउनुका साथै उत्पादन क्षमतामा समेत वृद्धि गरिरहेको किसानहरूको अनुभव छ । पछिल्लो समय मेचीनगरका विभिन्न वडामा कृषकहरूले आधुनिक उपकरण प्रयोग गर्न थालेपछि खेतीपातीमा नयाँ उत्साह थपिएको मेचीनगर–१ का किसान विनोद तामाङ बताउँछन् ।

सहकारी र नगरपालिकाको समन्वय

कृषि उत्पादन वृद्धि गर्न आवश्यक पर्ने मल, बीउ तथा प्राविधिक सेवाको सहज उपलब्धता महत्वपूर्ण पक्ष हो । यस विषयमा मेची कृषक सहकारी संस्थाले नगरपालिकासँग सहकार्य गर्दै किसानलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।

संस्थाका अध्यक्ष हरि बुढाथोकीका अनुसार किसानहरूले समयमा मल र बीउ नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले सहकारीले नगरपालिकासँग समन्वय गरी आवश्यक कृषि सामग्री वितरण गर्दै आएको छ ।

उनले भने, “किसानको सबैभन्दा ठूलो समस्या भनेको समयमा मल र बीउको उपलब्धता हो । हामी नगरपालिकासँग निरन्तर समन्वय गरेर किसानलाई आवश्यक मल तथा बीउ उपलब्ध गराउने काम गरिरहेका छौँ । यसले किसानलाई राहत मिलेको छ र उत्पादनमा समेत सकारात्मक प्रभाव परेको छ ।”

उनका अनुसार सहकारीमार्फत किसानलाई आधुनिक कृषि प्रविधि, उत्पादन व्यवस्थापन तथा बजार व्यवस्थापनका विषयमा समेत जानकारी दिने कार्य भइरहेको छ। सहकारी संस्था किसान र स्थानीय सरकारबीचको सेतुका रूपमा काम गरिरहेको उनको भनाइ छ ।

कृषि क्षेत्रमा ठूलो लगानी

मेचीनगर नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै पछिल्ला वर्षहरूमा उल्लेखनीय लगानी गरेको जनाएको छ। नगर प्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार कृषि उत्पादन वृद्धि, किसानको आयस्तर सुधार तथा कृषि पेसालाई सम्मानित र आकर्षक बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उनले कृषि क्षेत्रमा गरिएको लगानीको प्रतिफल प्राप्त हुन थालेको उल्लेख गर्दै किसानहरूको उत्पादन र सहभागिता बढ्दै गएको बताए। नगर प्रमुख बुढाथोकीले भने, “मेचीनगर कृषिप्रधान क्षेत्र भएकाले कृषि विकासलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको छ। हामीले कृषि क्षेत्रमा ठूलो लगानी गरेका छौँ र त्यसअनुसार सकारात्मक प्रतिफल पनि प्राप्त भइरहेको छ । किसानहरू आधुनिक प्रविधितर्फ आकर्षित भएका छन् र उत्पादनमा वृद्धि देखिएको छ ।”

उनका अनुसार कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि सिँचाइ, यान्त्रीकरण, कृषि व्यवसायीकरण तथा बजार व्यवस्थापनलाई एकसाथ अघि बढाउने नीति लिइएको छ ।

अधिकांश कार्यक्रम सम्पन्न

मेचीनगर कृषि शाखाका प्रमुख टेकेन्द्र प्रधानका अनुसार चालु आर्थिक वर्षमा कृषि विकासका लागि तय गरिएका अधिकांश कार्यक्रम सम्पन्न भइसकेका छन् । उनले जानकारी दिँदै भने, “यस आर्थिक वर्षका लागि तय गरिएका २० वटा कार्यक्रममध्ये १४ वटा कार्यक्रम सम्पन्न भइसकेका छन्। बाँकी कार्यक्रम पनि निर्धारित समयभित्र सम्पन्न गर्ने तयारी भइरहेको छ ।”

उनका अनुसार कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार, किसानलाई आवश्यक उपकरण उपलब्ध गराउने, सिँचाइ सुविधा विस्तार गर्ने तथा जैविक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएका छन् ।

कृषि शाखाले किसानको उत्पादन वृद्धि र लागत न्यूनीकरणलाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ । विशेषगरी साना तथा मझौला किसानलाई लक्षित गरी अनुदान र प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिएको छ ।

९० कृषक समूह सक्रिय

मेचीनगर नगरपालिकाभित्र हाल ९० वटा कृषक समूह सक्रिय रहेका छन्। यी समूहहरूले कृषि उत्पादन, प्रविधि हस्तान्तरण, सामूहिक खेती तथा कृषि व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

कृषि शाखाका अनुसार कृषक समूहमार्फत किसानहरूलाई तालिम, प्राविधिक परामर्श, अनुदान तथा विभिन्न कृषि कार्यक्रमको पहुँच सहज बनाइएको छ । समूहगत रूपमा काम गर्दा किसानहरूबीच अनुभव आदानप्रदान हुने र नयाँ प्रविधि छिटो फैलिने भएकाले यसको प्रभावकारी परिणाम देखिएको बताइएको छ ।

कृषक समूहहरूले तरकारी, धान, मकै, फलफूल, पशुपालन तथा जैविक खेतीका क्षेत्रमा उल्लेखनीय काम गरिरहेका छन् । समूहको सक्रियताले कृषि उत्पादनलाई व्यावसायिक दिशातर्फ उन्मुख गर्न मद्दत पुगेको कृषि शाखाको भनाइ छ ।

३५ लाख बराबरका कृषि औजार वितरण

कृषिमा यान्त्रीकरणलाई प्रोत्साहन गर्न मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बराबरका कृषि औजार किसानलाई वितरण गरेको छ । वितरण गरिएका औजारमा हाते ट्याक्टर, मकै छोडाउने मेसिनलगायतका उपकरण समावेश छन् । यी उपकरण किसानलाई अनुदानमा उपलब्ध गराइएको हो ।

कृषि शाखाका प्रमुख प्रधानका अनुसार कृषि यान्त्रीकरणले श्रम अभावको समस्या समाधान गर्न तथा उत्पादन लागत घटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नगरपालिकाले यस क्षेत्रमा विशेष जोड दिएको छ ।

स्थानीय किसानहरूका अनुसार यस्ता उपकरणले खेतीपातीको काम छिटो, सजिलो र प्रभावकारी बनाएको छ। विशेषगरी युवा जनशक्ति विदेश पलायन भइरहेका बेला कृषि औजारको प्रयोगले खेतीलाई टिकाउ बनाउन मद्दत पुगेको उनीहरूको भनाइ छ ।

सिँचाइ सुविधाको विस्तार

कृषि उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा अत्यन्त आवश्यक मानिन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले विभिन्न स्थानमा सिँचाइ सुविधा विस्तारको कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि शाखाका अनुसार चालु आर्थिक वर्षमा ३३ जना किसानलाई बोरिङ जडान गरी सिँचाइ सुविधा उपलब्ध गराइएको छ । यसबाट वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता कम भएको र वर्षभरि खेती गर्न सहज भएको किसानहरूले बताएका छन् ।

सिँचाइको पहुँच विस्तार भएसँगै तरकारी तथा अन्य नगदे बालीको उत्पादनमा समेत वृद्धि भएको कृषि शाखाले जनाएको छ । पर्याप्त पानी उपलब्ध हुँदा किसानहरूले एकभन्दा बढी बाली लगाउन सकेका छन्, जसले उनीहरूको आम्दानी बढाउन सहयोग पुगेको छ ।

जैविक खेतीतर्फ आकर्षण

रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्नुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने विषयलाई ध्यानमा राख्दै मेचीनगर नगरपालिकाले जैविक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसअन्तर्गत गड्यौला मल उत्पादन कार्यक्रम १५ वटै वडामा सञ्चालन गरिएको छ । किसानहरूलाई गड्यौला मल उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ ।

गड्यौला मल प्रयोगले माटोको गुणस्तर सुधार हुने, उत्पादन बढ्ने तथा रासायनिक मलमा निर्भरता कम हुने विश्वास गरिएको छ । स्थानीय किसानहरूले पनि जैविक खेतीतर्फ रुचि देखाउन थालेका छन् ।

कृषि विज्ञहरूका अनुसार जैविक मलको प्रयोगले दीर्घकालीन रूपमा कृषि उत्पादनलाई दिगो बनाउने भएकाले यस्ता कार्यक्रमलाई अझ विस्तार गर्न आवश्यक छ ।

स्थानीय तहको सक्रियताले बढ्यो आशा

संघीय शासन व्यवस्थापछि स्थानीय तहहरू नागरिकसँग प्रत्यक्ष जोडिने निकाय बनेका छन्। कृषि जस्तो आधारभूत क्षेत्रमा स्थानीय सरकारको सक्रियता बढेसँगै किसानहरूले प्रत्यक्ष लाभ लिन थालेका छन् ।

मेचीनगर नगरपालिकाले कृषि क्षेत्रमा गरेको लगानी, उपकरण वितरण, सिँचाइ विस्तार, सहकारीसँगको समन्वय तथा जैविक खेती प्रवद्र्धनका कार्यक्रमले कृषि क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाएको देखिन्छ । किसानहरू आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भइरहेका छन् भने कृषि पेसालाई व्यावसायिक बनाउने प्रयास पनि प्रभावकारी बन्दै गएको छ ।

यद्यपि, कृषि क्षेत्रमा अझै पनि मलको नियमित उपलब्धता, बजार व्यवस्थापन, उत्पादनको उचित मूल्य तथा कृषि बीमाजस्ता विषय चुनौतीका रूपमा रहेका छन्। यस्ता समस्याको समाधान गर्दै आधुनिक कृषि प्रविधिको पहुँच थप विस्तार गर्न सके मेचीनगर कृषि उत्पादन र व्यवसायीकरणको नमुना नगरका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ ।

स्थानीय सरकार, सहकारी संस्था र किसानबीचको सहकार्यलाई अझ सुदृढ बनाउन सके कृषि क्षेत्रको विकासले नयाँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ। आधुनिक कृषि प्रविधिको प्रभावकारी प्रयोग, पर्याप्त लगानी र योजनाबद्ध कार्यक्रममार्फत मेचीनगरले कृषिमा आत्मनिर्भरता र समृद्धितर्फ महत्वपूर्ण कदम चालेको छ ।