अर्जुनधारा । रोटरी क्लब अफ बिर्तामोडको स्थापना दिवसको अवसरमा अर्जुनधारा–८ को चन्द्रोदय आधारभूत विद्यालयमा पानी फिल्टर जडान गरी हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम संयोजक शैलेन्द्र कुरुम्वाङले रोटरी क्लब अफ बिर्तामोड १६ औं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा बैष्णव मेडिसेल्स काठमाडौंका महेश ढुङ्गेलले सहयोग गरेको पानी फिल्टर विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
सहयोगी महेश ढुङ्गेलले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन प्रमुख अतिथिका रूपमा सहभागी थिए।
नगरप्रमुख गोम्देनले रोटरी क्लबले समाजमा सकारात्मक तथा उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गरे । साथै, अर्जुनधारामा पूर्वकै नमुना पशु अस्पताल स्थापना गरिएको उल्लेख गर्दै आवश्यक उपकरण सहयोग गर्न उनले आग्रह गरे । उनले किसानहरूसँग अझ नजिकिएर काम गर्न समेत अनुरोध गरेका थिए।




















