बिर्तामोड । चारदिन अघि ट्याक्टर बाट झरेका मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । 

बाह्रदशी गाउपालिकाका गणेश गिरीको घरआँगनमा मे १ त ६२६८ नम्बरको ट्रयाक्टरमा बालुवा अनलोड गर्ने क्रममा दुर्घटना भएको थियो।

ट्रयाक्टरमा काम गर्ने स्टाफ सोही स्थानका अन्दाजी ३३ वर्षीय शिवलाल हेमरम अचानक ट्रयाक्टरबाट लडेर पेटमा चोट लागी घाइते भएका थिए। घाइते हेमरमलाई तत्काल स्थानीय राजगढ मेडिकलमा उपचार गराइएको थियो। प्रारम्भिक उपचारपछि चोट सामान्य देखिएकाले डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

तर, जेठ १२ गतेदेखि चोटको पीडा बढेपछि उनलाई थप उपचारका लागि अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएकोमा उपचारकै क्रममा आज राति मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी अनुसन्धानका लागि बार्हदशी गाउँपालिका–२ घर भई वडा नं. ३ बस्ने लक्किराम टुडुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।