बिर्तामोड । झापाको मेचीनगर र बिर्तामोडमा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।
मेचीनगर नगरपालिका–१२ सरेडाँगी चोकस्थित मेची राजमार्गमा भएको हो । बुधबारेबाट चारआलीतर्फ जाँदै गरेको मे.४प.६४७९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री पिपलडाँगी निवासी ५७ वर्षीय श्याम चेम्जोङ घाइते भएका हुन् ।
घाइते चेम्जोङको चारआलीस्थित बी एण्ड के पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्था सामान्य रहेको बताइएको छ । मोटरसाइकल चालक सरेडाँगी निवासी ३१ वर्षीय सुरेन्द्र लिम्बु उपचारमा संलग्न रहेका छन् । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ । घटनाबारे प्रहरी नायब निरीक्षक कुमार खड्काको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी राति करिब ९ः३० बजे बिर्तामोड नगरपालिका–३ स्थित दृष्टि आँखा अस्पताल नजिक भद्रपुर–बिर्तामोड सडक खण्डमा बा ५३ प ९०६७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो । भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक बिर्तामोड–५ निवासी ४० वर्षीय सुरेन लिम्बु गम्भीर घाइते भएका छन् ।
प्रहरी टोलीले उद्धार गरी उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल पठाएको जनाएको छ । दुर्घटनामा उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने गम्भीर अवस्था रहेको प्रहरीले जनाएको छ । स्कुटर प्रहरी चौकी बिर्ताबजारको नियन्त्रणमा रहेको छ ।




















