बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित झापा इनर्जी प्लान्टमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार दिउँसो करिब २:१० बजे के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन। आगलागीबाट प्लान्टभित्र रहेका विभिन्न मेसिन तथा उपकरण जलेर नष्ट भएका छन्। घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुभाष केसीको कमाण्डमा ७ जना तथा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी सहायक निरीक्षक बेनु बास्कोटाको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेको थियो। शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो दिउँसो २:५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।



















