बिर्तामोड । झापाका विभिन्न स्थानबाट प्रहरीले गाँजा र ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिजो साँझ ७ बजे बिर्तामोड नगरपालिका–४ स्थित एक डेरा कोठामा लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले खानतलासी गरेको थियो। सो क्रममा जेब्रा झोलाभित्र चार वटा प्लास्टिकको पोकामा राखिएको ५ केजी ९० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा अर्जुनधारा नगरपालिका–७ निवासी ३० वर्षीय बिनोद मगर र भोजपुर हतुवागढी गाउँपालिका–४ निवासी अन्दाजी २० वर्षीय सागर राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी सोही दिन साँझ ६:३० बजे झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

दमक नगरपालिका–१० निवासी ३२ वर्षीय सुरज रायको साथबाट ६ ग्राम १ मिलिग्राम र मोरङ विराटनगर महानगरपालिका–३ निवासी ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। दुवै जनाको साथबाट जम्मा १४ ग्राम ७१ मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।