बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले दमकमा २१ वर्षीया रमा तिवारीको हत्या घटनासम्बन्धी अनुसन्धान जारी रहेका बेला अपुष्ट तथा अनुमानका आधारमा समाचार प्रकाशन–प्रसारण नगर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जेठ १६ गते दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि दमक–८ निवासी रमा तिवारी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय दमकबाट भइरहेको जनाएको छ।

विज्ञप्तिमा अनुसन्धानका क्रममा रहेका तथ्य, प्रमाण तथा विवरणहरू आधिकारिक स्रोतबाट पुष्टि नभई विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुमान, अड्कल र अपुष्ट सूचनाका आधारमा समाचार प्रकाशन तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

प्रहरीका अनुसार अनुसन्धान संवेदनशील चरणमा रहेकाले आधिकारिक रूपमा सार्वजनिक नगरिएका विवरणहरू प्रकाशन वा प्रसारण गर्दा अनुसन्धान प्रक्रियामा प्रतिकूल असर पर्नुका साथै न्याय सम्पादन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने देखिएको छ।

त्यसैले सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सर्वसाधारणलाई अनुसन्धानसँग सम्बन्धित अपुष्ट, भ्रामक तथा अनुमानजन्य सामग्री प्रकाशन वा प्रसारण नगर्न र आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी गरिने सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानको प्रगतिबारे सार्वजनिक गर्न मिल्ने विषयहरू उपयुक्त समयमा कानुनबमोजिम आधिकारिक रूपमा जानकारी गराइने पनि जनाएको छ।