बिर्तामोड । झापाका दुई फरक स्थानबाट प्रहरीले ब्राउन सुगरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार दिउँसो बिर्तामोड नगरपालिका–५ किराँतचोकस्थित मिनबहादुर श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका चार जनालाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले खानतलासी गर्ने क्रममा ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका–२ का मनिस ओडारी, नारायण पौडेल, बिर्तामोड–४ का  रमेश लिम्बु तथा अर्जुनधारा–९ का  जेनिस बास्कोटा रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

यसैगरी साँझ ७:५० बजे भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा चेकजाँचका क्रममा एक जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर–१० का सुरेन्द्र गुरुङमाथि शंका लागेर जाँच गर्दा उनले छाताको डन्टीभित्र लुकाएर ल्याएको ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।