इलाम । कोशीको प्रमुख पर्यटकीय गन्तब्यमध्येको जिल्ला इलाम हो । यहाको सोन्दर्यले हरेक पर्यटकको मन लोभ्याउँछ ।

एक पटक इलामको मनमोहक सौन्दर्य अवलोकन गरेका आन्तरिक तथा बाह्य पर्यटकलाई कति चाँडो अर्को भ्रमणको योजना मिलाउने भन्ने हुटहुटी हुन्छ ।

पर्यटक लोभ्याउने इलामको प्रमुख आकर्षण भनेको यहाँको हरियाली वातावरण हो । यस्तै इलामको मौषम अर्को लोभलाग्दो छ । यहाँ ० डिग्री न्युनतम तापक्रमदेखि अधिकतम ३१ डिग्रीसम्म रेकर्ड भएको छ । झापासहित तराईको तातो छल्न चाहने स्थानीय पर्यटकको पहिलो गन्तव इलाम हुँदै आएको छ ।

यहाँको कृषि उत्पादन पनि पर्यटकका लागि अध्ययनको केन्द्र हुँदै आएको छ । अलैंची, अम्लिसो, अदुवा, अकबरे, आलु, चिया यहाँका प्रमुख बिशेषता हुन् ।

सौन्दर्य तथा पर्यावरणको धनी हुँदा हुँदै पनि इलामले अपेक्षित पर्यटक भित्र्याउन सकेको छैन । यसको प्रमुख कारण हो यहाँको उत्कृष्ट सम्भावनाको बजारिकरण नहुनु । सरकार तथा सरोकारवालाले इलामको पहिचानलाई अपेक्षित बजारिकरण गर्न सकेका छैनन् ।

इलामको पर्यटनलाई एक हदसम्म ल्याण्ड रोभरले त्राण भरेको छ । दुर्गम र विकट स्थानका पर्यटकीय गन्तव्यमा जान/आउन बेलायतमा निर्मित यो सवारी साधन उपयुक्त विकल्प बन्दै आएको छ ।

आजभन्दा झण्डै ७० बर्षअघि निर्मित बलियो यो सवारी साधन इलाममा मात्र ३० वटा जति छन् । जसले भिरालो, अप्ठ्यारो र कच्ची सडकमा सहजै यात्रा गराउदै आएका छन् ।

तर, भारतीयले खरिद गरेर लैजान थालेपछि यो पुरानो सवारी साधन नेपालमा अभाव हुन थालेको छ । जसले इलामको ग्रामीण पर्यटनमा प्रभाव पर्ने एकजना ल्याण्ड रोभर चालक टंक श्रेष्ठ बताउँछन् ।

ल्याण्ड रोभरको संरक्षण तथा यहाँको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलाम नगरपालिकाको नगर स्तरीय पर्यटन प्रवर्द्धन समितिले शनिबार ल्याण्ड रोभर र्याली आयोजना गरेको छ । नेपालका र भारतका ३० वटा ल्याण्ड रोभरले बिब्ल्याँटे हुँदै माइपोखरीसम्म र्याली प्रदर्शन गरेका थिए ।