इलाम। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले निजी क्षेत्रसँगको साझेदारीमा सरकारले पर्यटनको क्षेत्रमा काम गर्ने बताएका छन् ।

आज इलामको गौतम बुद्ध सभागृहमा आयोजित केचना कञ्चनजंघा रेस्पोन्सिवल टुरिजम मिटको उद्घाटन गर्दै मन्त्री पराजुलीले सीमित बजेटका बाबजुद सरकारले पर्यटन क्षेत्रमा अघि बढाएका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुलाई पूर्णता दिनेगरी तयारी भइरहेको बताए ।

कोशीका प्रमुख गन्तव्यहरुलाई पहिचान गरेर प्रवद्र्धन गर्नेको प्रतिबद्धता व्यक्त गरे । उनले कोशी प्रदेश सरकारले २०८२ सालमा अघि सारेको पर्यटन वर्ष सोचेअनुसार सफल हुन नसकेको दुखेसो गरे । कोशीमा सरकारको करको दायरा सानो भएकाले पर्यटन क्षेत्रको विकासका लागि उत्पादनसँग जोड्ने धारणा राखे ।

इलाम नगरपालिका नगर पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सुशीला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मिटका सहसंयोजक देवी पौडेलले सम्मेलनको औचित्यमाथि प्रकाश पारेका थिए ।

पौडेलले सम्मेलनको मुख्य आकर्षण नेपालकै सबैभन्दा होचो भूभाग झापाको केचना र विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघालाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने अवधारणा रहेको बताए ।

कार्यक्रममा इलाम नगरप्रमुख केदार थापाले तराईदेखि हिमाली क्षेत्रसम्म फैलिएको जैविक विविधता, प्राकृतिक सम्पदा र सांस्कृतिक विशिष्टतालाई एकीकृत रूपमा प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

आज पहिलो दिन जिम्मेवार पर्यटन, जैविक विविधता संरक्षण, सीमापार पर्यटन र पर्यटनमा वन्यजन्तु विषयमा झापाका पर्यटन अभियन्ता अर्जुन कार्कीले प्रस्तुति दिएका थिए ।

त्यस्तै, पर्यटन अभियन्ता केशव धौराली, राज बसु, केदार शर्मा र विजय झुन्झुनवालाले सीमापार पर्यटन, स्थानीयदेखि वैश्विक विषयमा बहस गरेका थिए । बहसको सहजीकरण सञ्चारमर्की सुजन तिम्सिनाले गरेका थिए ।

कार्यक्रम उद्घाटनअघि इलाममा हराउँदै गएको ल्यान्ड रोभर गाडीसहितको सांस्कृतिक झाँकी निकालिएको थियो । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र भारतका पर्यटन व्यवसायी, विज्ञ, जनप्रतिनिधि तथा सरोकारवालाहरू सहभागी छन् ।