बिर्तामोड । झापाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा लागुऔषध तथा प्रतिबन्धित औषधीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

बिर्तामोड नगरपालिका–६ स्थित न्युटन अंग्रेजी स्कुल नजिक २८ वर्षीय राजु राजवंशीको घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर फेला पारेको छ। उक्त लागुऔषधसहित राजु राजवंशी र सोही कार्यमा संलग्न ३० वर्षीय अभिनास चौधरी (विक्रम) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, झापा गाउँपालिका–४ मा प्रहरीले चेकजाँचका क्रममा ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका–२ आम्बेबुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम गाउँपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई नियन्त्रणमा लिएको छ। उनीहरूले निटाजसेन-१० नामक प्रतिबन्धित औषधी सेवन गरेको पाइएको तथा विजय लिम्बुको साथबाट सोही औषधी ७ पिस बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, झापा गाउँपालिका–४ सुकुमबासी बस्तीमा भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका गौरीगञ्ज गाउँपालिका–१ रङ्गेथानका २० वर्षीय जीवन राजवंशीलाई प्रहरीले शंकाको आधारमा जाँच गर्दा साइकलको ह्यान्डलमा लुकाएर ल्याइएको १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। उनलाई लागुऔषध र साइकलसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका सबै व्यक्तिलाई सम्बन्धित प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।