बिर्तामाेड । झापाकाे बिर्तामाेडमा पहिलाे पटक राेजगार मेला लगाइने भएकाे छ ।  बिर्तामोड नगरपालिका को आयोजना र बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा जेठ ३० र ३१ गते बिर्तामोडस्थित अतिथि सदनमा ‘बिर्तामोड रोजगार मेला’ आयोजना हुने भएको हाे।

बिर्तामाेड नगरपालिकाकाे रोजगार शाखा प्रमुख होमनाथ भट्टराईका अनुसार मेलाको मुख्य उद्देश्य रोजगारको खोजीमा रहेका युवा–युवती र रोजगारदाताबीच प्रत्यक्ष भेटघाट तथा समन्वय गराउनु हो।

मेलाका सहजकर्ता सेवक बजगाईंले उद्योग, होटल, कलेज तथा विभिन्न व्यवसायिक प्रतिष्ठानका लागि आवश्यक जनशक्ति खोज्ने अवसर मेलाले प्रदान गर्ने बताए। मेलामा ३० वटा स्टल रहने, करिब २ हजार युवाको सहभागिता हुने तथा झण्डै १ हजार जना रोजगारका इच्छुक सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार मेलास्थलमै ५०० देखि १ हजार जनासम्मको अन्तर्वार्ता सञ्चालन गरिनेछ। अन्तर्वार्तापछि एक साताभित्र करिब २०० जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ। साथै, ३०० जनालाई तालिम तथा उद्यमशीलता कार्यक्रमतर्फ सिफारिस गरिने जानकारी दिइएको छ।

१८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले मेलामा सहभागी भई रोजगारदातासँग प्रत्यक्ष छलफल गर्न, रोजगारीका अवसरबारे जानकारी लिन तथा अन्तर्वार्ता दिन सक्नेछन्। विद्यार्थीहरूका लागि पढ्दै कमाउँदै गर्न सकिने किसिमका रोजगारीका अवसर समेत उपलब्ध गराइने जनाइएको छ।

बिर्तामाेड नगरपालिकाका उप-प्रमुख नगेन्द्र संग्रौला ले रोजगार मेला युवाहरूलाई रोजगारीसँग जोड्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले रोजगारीलाई जीवनयापनको आधार भएकाले यस्ता कार्यक्रमको विशेष महत्व रहेको बताएका छन्।