बिर्तामोड । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ गैरीगाउँ क्षेत्रमा भारतको पानीट्याङ्कीबाट मेची खोलाको बाटो हुँदै अवैध रूपमा नेपाल प्रवेश गरिरहेका एक बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बंगलादेशको राहदानी बोकेका ३३ वर्षीय मोहमद सैफुल इस्लामलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक अनुसन्धान गरिएको तथा थप कानुनी कारबाहीका लागि अध्यागमन विभाग, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट हुने अवैध आवतजावत नियन्त्रणका लागि निगरानी र सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।




















