बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

आज बिहान मेचीनगर–४ वडा कार्यालय अगाडि बसोबास गर्ने ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा अचानक आएको जंगली हात्तीले कुल्चिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक बीरेन्द्र कोइराला को नेतृत्वमा टोली खटिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बाहुनडाँगी क्षेत्र मानव–हात्ती द्वन्द्वको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। स्थानीयवासीलाई बिहान र रातिको समयमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।