बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकामा शनिबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्।
बुद्धशान्ति–२ बाल्मिकी चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको मे १ प ८३२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ८ प ६१६७ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटरमा पछाडि सवार २० वर्षीय सन्जाद आलम घाइते भएका छन्। उनको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ। यस्तै मोटरसाइकल चालक लिला बहादुर कुमालको दाहिने खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालक २२ वर्षीय समिम आलम भने सकुशल रहेका छन्।
यसैगरी, बुद्धशान्ति–३ बुधबारे पेट्रोलपम्प अगाडि मेची राजमार्गमा राति मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा अर्को दुर्घटना भएको छ। चारआलीबाट पुलचोकतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ८४७९ नम्बरको मोटरसाइकलले ५५ वर्षीया सर्मिला सुब्बालाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएकी सुब्बाको बायाँ हात र छातीमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल रिफर गरिएको छ।
दुवै घटनामा संलग्न सवारी साधन र चालकलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















