बिर्तामोड। झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित गौंडामा टिमाई खोलामा एक्कासी आएको बाढीका कारण फसेका ७ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार दिउँसो करिब १:०० बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका उनीहरू बाढी बढेपछि खोलापारि फसेका थिए। उद्धारका लागि प्रहरीलाई सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबारीबाट संयुक्त टोली परिचालन गरिएको थियो।
उक्त टोलीले साँझ करिब ५:२० बजे सबैलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
उद्धार गरिएकामध्ये बिर्तामोड–९ का राजु पाठक, एञ्जिना पाठक र आरती पाठक रहेका छन् भने भद्रपुर–५ का भुपाल ठाकुर, पिन्टु बर्मन, मोहित हलुवाई र रोहित साह रहेका छन्।
वर्षायाममा नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले यस्ता स्थानमा जाँदा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।




















