बिर्तामोड । झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिहान करिब ९:५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र.१–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटी चालक दमक–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। टाउको तथा दाहिने हातमा चोट लागेका कार्कीको नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

स्कुटीको पछाडि सवार गौरीगञ्ज गाउँपालिका–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेका छन्।

दुर्घटनापछि टिपर चालक फरार भएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा दिउँसो करिब १२ बजे टिपरसहित चालक गौरादह नगरपालिका–९ बैगुनधुरा निवासी २९ वर्षीय दिपक प्रधानलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।