बिर्तामोड । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आमा–छोराको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
आज दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१ त ७४०४ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन तथा ४५ वर्षीया आमा नुरेश सादेवी घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा लगिएकोमा चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोड पठाइएको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर तथा ट्याक्टर चालक कनकाई नगरपालिका–५ का चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।















