बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादपछि एक वृद्धले श्रीमतीलाई फलामको रडले घाइते बनाएका छन् भने त्यसलगत्तै घरको तेस्रो तलाबाट हाम फाल्दा उनको मृत्यु भएको छ।
आज बिहान करिब ५:३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
घाइते गंगामुनीलाई उपचारका लागि अस्पताल पठाइएको छ। उनको पेटमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि घिरेन राजवंशी घरको तेस्रो तलामा गएर हाम फालेका थिए। हाम फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई पनि उपचारका लागि लगिएकोमा बिहान ६:४५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















