बिर्तामोड । झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जना घाइते भएका छन्।

बिर्तामोड नगरपालिका–७ राधाकृष्ण टोलमा शुक्रबार बिहान मे ११ प ८३८४ नम्बरको स्कुटर अनियन्त्रित भएर लड्दा चालक कनकाई नगरपालिका–३ सुरुङ्गाका ५० वर्षीय राजन उप्रेती घाइते भएका छन्।

प्रहरीले उनी अत्यधिक मदिरा सेवन गरेको अवस्थामा फेला पारेको जनाएको छ। बाहिरी चोटपटक नदेखिए पनि उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गा पठाइएको छ। स्कुटर इलाका प्रहरी कार्यालय गरामनीको नियन्त्रणमा रहेको छ।

यस्तै, दमक नगरपालिका–६ हनुमान मन्दिर नजिक भित्री सडकखण्डमा बिहीबार अपराह्न प्र.१–०१–०१७ प ५४७ नम्बरको स्कुटरले साइकलयात्री दमक–२ की ३० वर्षीया हरिमाया दर्जीलाई ठक्कर दिँदा उनी घाइते भएकी छन्। दुर्घटनामा स्कुटर चालक दमक–९ का २५ वर्षीय रोशन सुबेदी तथा पछाडि सवार दमक–२ की २० वर्षीया स्मृति राई समेत घाइते भएका छन्। तीनै जनाको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ। प्रहरीले स्कुटर नियन्त्रणमा लिएको छ।

त्यसैगरी, मेचीनगर नगरपालिका–१ निन्दा सिरान चोकमा बिहीबार अपराह्न मे ९ प ९७२० नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा स्कुटर चालक १९ वर्षीया संजिता लिम्बु, १८ वर्षीया कौशिका गजमेर र १९ वर्षीया नम्रता पोखरेल रहेका छन्।

उनीहरूको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ।