झापा । पाँचथरको फिदिम नगरपालिका–४ स्थित हेवा खोलामा पौडी खेल्न गएका एक बालक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आइतबार दिउँसो करिब २ बजे फिदिम–४ निवासी बिन्दु योङहाङका ९ वर्षीय छोरा आरोप प्रधान, गंगाप्रसाद नेम्वाङका १० वर्षीय छोरा तान्छेहाङ नेम्वाङ र कुमार सार्कीका ९ वर्षीय छोरा पवन सार्की संगै पौडी खेल्न हेवा खोलामा गएका थिए। उनीहरूमध्ये दुई जना घर फर्किए पनि आरोप प्रधान घर नफर्किएपछि परिवारले राति ९ः३० बजे प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक दिनेश तिम्सिनाको कमाण्डमा ७ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। खोजतलासका क्रममा खोलाको किनारमा बालकको चप्पल, कालो रङको घडी, टि–सर्ट र ट्रयाक फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म मुख्यालय जोरसालसँग समन्वय गरी खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
















