बिर्तामोड । इलामको रोङ गाउँपालिका–६ सलकपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार राति करिब १ बजे परेको वर्षासँगै चट्याङ पर्दा स्थानीय ८८ वर्षीय कालुविर मोक्तानको मृत्यु भएको हो। उनी आफ्नै काठको टाँटीबेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा मृत अवस्थामा फेला परेका थिए। चट्याङ लाग्दा उनको टाउको र पेट जलेको अवस्थामा रहेको तथा घरको विद्युत् मिटर बक्स पनि जलेको प्रहरीले जनाएको छ।

आइतबार बिहान करिब ८:३० बजे नाति लेखराज मोक्तानले घटनाबारे थाहा पाएपछि प्रहरी चौकी जिर्मलेलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलामको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।