झापा । झापाको मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मंगलबार अपराह्न करिब ३:४५ बजे कुलोमा घोप्टो परेर एक व्यक्ति मृत अवस्थामा रहेको जानकारी स्थानीयवासीले प्रहरी चौकी सतिघट्टालाई दिएका थिए।

प्रहरीका अनुसार मृतक भारतको आसामबाट करिब ६–७ वर्षअघि नेपाल आएका अन्दाजी ५० वर्षीय संजय सोरेन रहेको स्थानीयवासी तथा उनकी १२ वर्षीया छोरी सुमी सोरेनबाट खुलेको छ।

मृतकको नेपालमा स्थायी बसोबास नभएको र उनी विभिन्न व्यक्तिको घरमा काम गर्दै त्यहीँ बस्ने गरेका थिए। उनकी छोरी भने मेचीनगर–७ का मेघनाथ चौधरीको घरमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी साँझ शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।