बिर्तामाेड । झापाको मेचीनगर नगरपालिका–३ स्थित भावना चोकमा गएराति आगलागी हुँदा एक घर र गोठमा ठूलो क्षति पुगेको छ।

आज बिहान करिब १ बजे पूर्णचन्द्र रिजालको इँटा र काठबाट बनेको टिनको छानो भएको दुई कोठे कच्ची घरमा अचानक आगलागी भएको थियो। आगोले घरसँगै जोडिएको गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि बिहान २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

आगलागीबाट घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ भने घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, अन्नपात, आधा तोला सुन, ५० हजार रुपैयाँ नगद तथा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनाबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन। प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार गर्ने तथा आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।