झापा । झापाको हल्दिबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडकको छेउमा जोतिएको खेतको हिलोमा एक पुरुष साइकलसहित मृत अवस्थामा फेला परेका छन्।
आज बिहान करिब स्थानीयले खेतको हिलोमा अनुहार गाडिएको अवस्थामा एक पुरुष मृत अवस्थामा रहेको देखेपछि प्रहरी चौकी हल्दिबारीमा टेलिफोनमार्फत जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।
प्रारम्भमा मृतकको पहिचान खुलेको थिएन। पछि मृतक बिर्तामोड नगरपालिका–९ निवासी ४९ वर्षीय होम प्रसाद सुवेदी रहेको उनकी छोरी हल्दिबारी गाउँपालिका–२ निवासी योगमाया सुवेदी भट्टराईले पहिचान गरेकी प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



















