बिर्तामाेड । झापाको बाह्रदशी गाउँपालिका–५ स्थित गाउँपालिकाको कार्यालय भवनमा रंग लगाउने क्रममा एक जना कामदार गम्भीर घाइते भएका छन्।

आज बिहान तीनतले भवनमा रंग लगाइरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा भवनको माथिल्लो तलाबाट लडेर बीचमा रहेको ग्रिलमा अड्किएका थिए।

दुर्घटनामा उनको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते थापालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित अस्पताल पठाइएको छ।

घटनापछि गाउँपालिकाका कर्मचारीको सहयोगमा उद्धार गरी अस्पताल लगिएको हो। हाल उनको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।