बिर्तामोड । झापाको अर्जुनधारामा आधुनिक प्रविधिमा आधारित ‘इको साइन कमर्सियल एण्ड सेनिटाइजेसन सर्भिस’ सञ्चालनमा आउने भएको छ। संस्थाले मंगलबार पत्रकार सम्मेलन गर्दै लण्ड्री तथा सेनिटाइजेसन सेवाको औपचारिक शुभारम्भ गर्ने जानकारी दिएको हो।
संस्थाका सञ्चालक सोभित प्रसाईंका अनुसार दैनिक ३ हजार केजीसम्म कपडा धुने क्षमता रहेको अत्याधुनिक मेसिन जडान गरिएको छ। करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस उद्योगबाट प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाउनेछन्।
व्यवसायी उज्ज्वल उप्रेतीले सेवा सुरु भएसँगै ग्राहकले ५० मिनेटभित्र कपडा धुने सेवा प्राप्त गर्न सक्ने र २४ घण्टाभित्र डेलिभरी गरिने जानकारी दिए। उनका अनुसार धुने क्रममा प्रयोग हुने पानीलाई चार चरणमा फिल्टर गरिन्छ, जसले कपडाको गुणस्तर र सरसफाइलाई सुनिश्चित गर्छ।
उद्योगका सहयोगी सुरेश भण्डारीले कपडा सफाइ र सेनिटाइजेसनका लागि ६ प्रकारका विशेष केमिकल प्रयोग गरिने बताए। यी केमिकल स्वास्थ्य तथा वातावरणमैत्री रहेको र कपडामा रहेका जीवाणु तथा भाइरसलाई सुरक्षित स्तरसम्म न्यूनीकरण गर्न प्रभावकारी हुने उनको भनाइ छ।
संस्थाका अनुसार होटल, अस्पताल, बैंक, विद्यालय तथा अन्य संस्थागत ग्राहक यस सेवाका मुख्य लाभग्राही हुनेछन्। व्यावसायिक तथा घरायसी दुवै प्रयोजनका लागि गुणस्तरीय, छिटो र सुरक्षित लण्ड्री सेवा उपलब्ध गराइने जनाइएको छ।
पत्रकार सम्मेलनमा साझेदार गोविन्द श्रेष्ठ र नवीन ढुङ्गानाले पनि सञ्चारकर्मीको जिज्ञासा समाधान गरेका थिए ।
संस्थाले आधुनिक प्रविधिमार्फत कपडाको सरसफाइसँगै सेनिटाइजेसन सेवालाई प्राथमिकता दिँदै झापा क्षेत्रमा स्वच्छ र सुरक्षित लण्ड्री सेवाको नयाँ अभ्यास सुरु गरेको जनाएको छ।




















