बिर्तामोड । झापामा मंगलबार साँझ भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई चालक घाइते भएका छन्।

बिर्तामोड नगरपालिका–७ धौलापुलस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा साँझ बिर्ताबजारबाट चन्द्रगढीतर्फ जाँदै गरेको प्र१-०१-०१८प ३३३९ नम्बरको स्कुटरले सोही दिशातर्फ गइरहेको प्र१-०१-००२ ह ५५७१ नम्बरको टेम्पोलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक भद्रपुर नगरपालिका–८ निवासी ३१ वर्षीय मनोज राय घाइते भएका छन्। उनको चिउँडो र मुखमा चोट लागेको छ। उनको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनको अवस्था सामान्य रहेको जनाएको छ।

दुर्घटनापछि अस्थायी प्रहरी चौकी गरामनीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। टेम्पो चालक बिर्तामोड–७ निवासी ५४ वर्षीय दिननाथ दाहाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, कमल गाउँपालिका–४ चुलाचुलीमोडस्थित पूर्व–पश्चिम राजमार्गमा केर्खाबाट सितापुरीतर्फ जाँदै गरेको प्र.१-०१-०१४प ८९१० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–४ निवासी २६ वर्षीय सन्दीप लिम्बु घाइते भएका छन्। उनको दुवै हात र खुट्टामा चोट लागेको छ। बोल्न सक्ने अवस्थामा रहेका उनलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा राखिएको छ। दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।