बिर्तामोड । झापाको कमल गाउँपालिका–२ छलफल चोकस्थित भित्री सडकखण्डमा शुक्रबार साँझ भएको स्कुटी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

केर्खाबाट समयगढतर्फ जाँदै गरेको मे.११ प.१६१८ नम्बरको स्कुटी साँझ आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटी चालक इलाम माई नगरपालिका–१ स्थायी घर भई हाल दमक–५ बस्दै आएका २९ वर्षीय राजन महत गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको तथा बायाँ कानबाट रगत बगेको अवस्थामा निम्स अस्पताल दमकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रेफर गरिएको छ।

स्कुटीको पछाडि सवार धादिङ थाक्रे गाउँपालिका–११ स्थायी घर भई हाल कमल–६ बस्दै आएका ३० वर्षीय रोशन तामाङ गम्भीर घाइते भएका थिए। उनको पनि टाउकोमा चोट लागेको र बायाँ कानबाट रगत बगेको अवस्थामा निम्स अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा साँझ करिब ७:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले मृतकको शव कानुनी प्रक्रिया पूरा गर्न दमक अस्पतालको शवगृहमा राखिएको जनाएको छ। दुर्घटनाग्रस्त स्कुटी इलाका प्रहरी चौकी तोपगाछीको नियन्त्रणमा रहेको छ।