बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ एक किलोमिटर क्षेत्रमा शुक्रबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति बिर्ताबजारबाट बिर्तामोडतर्फ जाँदै गरेको बा ४६ प ३०३२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट पछाडि आउँदै गरेको प्र १-०१-०१३ प १३९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

दुर्घटनामा बा ४६ प ३०३२ नम्बरको मोटरसाइकल चालक बिर्तामोड–४ निवासी  कृष्ण भट्टराई र पछाडि सवार जस्मिन कडरिया घाइते भएका थिए। दुवैको दाहिने खुट्टामा चोट लागेको भए पनि सामान्य उपचारपछि घर फर्किएका छन्।

त्यसैगरी, प्र १-०१-०१३ प १३९५ नम्बरको मोटरसाइकल चालक बिर्तामोड–५ निवासी नन्दन साहको टाउको, अनुहार तथा दुवै हातमा चोट लागेको छ। पछाडि सवार शिवचरण साह पनि सामान्य घाइते भएका छन्। उनीहरूको बिर्ता सिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दुवै मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी चौकी बिर्ताबजारमा राखेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।