अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–९ बारघरेस्थित शनिश्चरे–जयपुर सडकखण्डमा केही दिनअघि भएको सवारी दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा निधन भएको छ।
गत असार १० गते साँझ करिब ६ बजे शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ४५४ नम्बरको स्कुटरले बाटो काट्दै गरेको मे ९ प १५०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–९ निवासी ७० वर्षीय नरेन्द्रप्रसाद अधिकारी गम्भीर घाइते भएका थिए।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका अधिकारीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा आज उनको निधन भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा स्कुटरमा पछाडि सवार उनकी बुहारी सीता गौतम अधिकारीको हात र खुट्टामा सामान्य चोट लागेको थियो भने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी २० वर्षीय साहिल साह पनि सामान्य घाइते भएका थिए।
दुर्घटनापछि दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















