बिर्तामोड । झापा प्रहरीले भद्रपुर नगरपालिका–३ स्थित शाने चोकमा रहेको एक घरबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको १४८ बोरा खरबुजाको बिउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक नेतृत्वको ५५ सदस्यीय टोलीले घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा प्रति बोरा ४० केजीका दरले जम्मा ५,९२० केजी खरबुजाको बिउ फेला परेको हो।
बरामद गरिएको बिउ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।



















