झापा । भद्रपुर–३ स्थित मा दुर्गा सप्लायर्सको गोदामबाट जिल्ला प्रहरी कार्यालय झापा र भन्सार कार्यालयको टोलीले चाइनिज खरबुजाको बियाँ नियन्त्रणमा लिएपछि विवाद चुलिएको छ। व्यवसायीले प्रहरीले कानुनी प्रक्रिया मिचेर गोदाम फुटाई सामान लगेकाे आरोप लगाएका छन्।
मा दुर्गा सप्लायर्सका सञ्चालक राजु थापा मगरका अनुसार आइतबार नेपाल प्रहरीले बिल–बिजक जाँच गर्न भन्दै सम्पर्क गरेको थियो। आफू बाहिर रहेको र फर्किएपछि आवश्यक कागजात देखाउने जानकारी गराउँदा पनि प्रहरीले गोदामको शिल तोडी सामान नियन्त्रणमा लिएको उनले बताए।
उनका अनुसार गोदाम विधिवत् दर्ता भएको, सामानको बिल–बिजक, भिसिटिएस (VCTS) तथा क्वारेन्टाइनका सबै प्रक्रिया पूरा गरी चीनबाट खरबुजाको बियाँ आयात गरिएको हो। "प्रहरीले कागजात हेर्नै मानेन। मलाई अन्याय भयो," उनले गुनासो गरे।
घटनाप्रति झापाका उद्योगी–व्यवसायीहरूले पनि आपत्ति जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य उमेश डालमियाले व्यवसायीलाई हतोत्साही बनाउने कार्य नगर्न आग्रह गर्दै कानुनी प्रक्रियाअनुसार राज्य सञ्चालन हुनुपर्ने बताए।
झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरेले "बिल–बिजक हुँदाहुँदै किन यस्तो कारबाही गरियो ? परिवर्तन केका लागि खोजिएको हो ? व्यवसाय गर्न नदिने हो ?" भन्दै प्रश्न उठाए। उनले भन्सार र क्वारेन्टाइन प्रक्रिया पूरा गरी ल्याइएको सामानमाथि गरिएको कारबाहीले लगानीको वातावरण नै बिग्रने बताए।
झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनालीले प्रहरीको कार्यशैली निन्दनीय भएको बताउँदै पीडित व्यवसायीलाई संस्थागत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
यता भन्सार अधिकृत प्रभुनारायण मेहताले भने प्रहरीले "चोरी निकासी भएको" भन्दै सामान भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए। उनले यस विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए।
कानुनी प्रक्रियम पूरा गरेर भण्डारण गरिएको सामान बरामद गरेर प्रहरीले मिडिया मार्फत स्टण्ट गरेको आरोप झापाका व्यवसायीको रहेको छ ।




















