बिर्तामाेड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित एक वृद्ध आश्रममा २४ घण्टाभित्र तीन जना वृद्धवृद्धाको मृत्यु भएको छ। देवशान्ति टोलमा सञ्चालित 'परोपकार तथा अनुसन्धान केन्द्र वृद्ध आश्रम' मा आश्रित उनीहरूको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार असार ३१ गते बिहान वृद्ध आश्रममा मानिसहरूको मृत्यु भएको खबर प्राप्त भएको थियो।
मृत्यु हुनेहरूमा झापा अर्जुनधारा नगरपालिका वडा नं. ९ घर भई विगत २०७२ सालदेखि आश्रममा बस्दै आएकी ९० वर्षीया चन्द्रमाया बस्नेत, हल्दिबारी गोलधाप घर बताउने ७८ वर्षीय जारसिङ राई र झापा गाउँपालिका शरणामति घर बताउने ८४ वर्षीय भिम बहादुर सुब्बा रहेका छन्।
प्रहरीको प्रारम्भिक विवरण अनुसार मृतक तीनै जना लामो समयदेखि दीर्घरोगबाट पीडित थिए। दमको बिरामी रहेकी बस्नेतको असार ३१ गते राति २:३० बजे र दमका अर्का बिरामी सुब्बाको सोही राति १२:३० बजे मृत्यु भएको हो। यस्तै, उच्च रक्तचाप (प्रेसर) र प्यारालाइसिसका बिरामी रहेका राईको भने असार ३० गते बेलुका ६:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरू सबैको बिर्तामोडस्थित विभिन्न अस्पतालमा उपचार गराई चिकित्सकको सल्लाह बमोजिम नै आश्रममा राखिएको बुझिएको छ।
एकै ठाउँमा छोटो समयको अन्तरालमा तीन जनाको मृत्यु भएपछि प्रहरीले घटनास्थलको प्राविधिक जाँचबुझसहित थप कानुनी प्रक्रिया अघि बढाएको छ।




















