बिर्तामोड । बाह्रदशी गाउँपालिका–१ साधुपत्तीस्थित अदुवा खोलामा रहेको पुरानो काठको पुल भाँचिँदा मारुती भेन खोलामा खसेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
शुक्रबार साँझ करिब ६ बजे भागुडुब्बाबाट साधुपत्तीतर्फ जाँदै गरेको मे १ च ३७६७ नम्बरको मारुती भेन पुल तर्ने क्रममा पुल भाँचिएर खोलामा खसेको हो। दुर्घटनाबाट भेनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले निरीक्षण गर्दा करिब २० मिटर लामो पुरानो काठको पुल पूर्णरूपमा भत्किएको पाइएको छ।
खोलामा खसेको भेनलाई स्थानीयको सहयोगमा निकालिएको छ भने सवारीधनीले घर लगिसकेको प्रहरीले जनाएको छ। थप दुर्घटना हुन नदिन पुलको दुवैतर्फ ढुङ्गा र बाँस राखेर आवागमन बन्द गरिएको छ।
उक्त स्थानमा नयाँ पक्की पुल निर्माणाधीन रहेकाले हाल पैदल यात्रु भने सोही पुलबाट आवतजावत गर्न सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।




















