बिर्तामोड । झापा जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा २ हजार २२५ वटा मुद्दा दर्ता गरी १ हजार ९१० जनालाई पक्राउ गरेको जनाएको छ।
दर्ता भएका मुद्दामध्ये १ हजार ४८९ वटा फर्छ्योट भएका छन् भने ७३६ वटा अनुसन्धानकै क्रममा छन्।
प्रहरीले वर्षभरि लागू औषध, ठगी, बैंकिङ कसुर, चोरी, जबरजस्ती करणी लगायतका अपराधमा व्यापक कारबाही गर्दै ३ केजी ९४१ ग्रामभन्दा बढी ब्राउन सुगर, ठूलो परिमाणमा लागूऔषध ट्याब्लेट तथा अन्य लागू औषध बरामद गरेको जनाएको छ।
यश अवधिमा फरार रहेका ६७० जना अभियुक्त पक्राउ गरी २१७ वर्षभन्दा बढी कैद कार्यान्वयन गराउनुका साथै ५ करोड ८४ लाख ७३ हजार ७६० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
यस अवधिमा ५ करोड ९ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद, १ हजार ५११ सवारी दुर्घटनामा ७७ जनाको मृत्यु, २४ हजार ६८० सवारी कारबाही तथा ७१५ वटा सामुदायिक प्रहरी कार्यक्रम सञ्चालन गरिएको प्रहरीको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले लागू औषधविरुद्ध 'झापा एक्सन अगेन्स्ट नार्कोटिक्स' अभियान सञ्चालन गर्नुका साथै पाँच चर्चित अपराधको सफल अनुसन्धान गरी अभियुक्तलाई कानुनी दायरामा ल्याएको जनाएको छ।




















