बिर्तामाेड । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार भारी बर्षाका कारण बिभिन्न नदीमा जलसतह बढ्ने हुँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

वर्षाका कारण २३ बढी जिल्लामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका अनुसार दुई दिन पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा उच्च जोखिममा रहेका छन् ।

यी जिल्लाहरुमा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ । परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी साधन आवागमन बन्द गर्न प्राधिकरणले भनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली/पहाडी भू–भाग, कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान र मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको  छ ।

प्राधिकरणले भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि अनुरोध गरेको छ ।