बिर्तामोड । बिर्तामोड प्रहरीले डान्सवारका सञ्चालकमाथि मुद्दा दर्ता गरेको छ । पक्राउ गर्दै छोड्दै गर्दासमेत अटेर गरेपछि प्रहरीले डान्सबारका सञ्चालकमाथि मुद्दा दर्ता गरेर कारवाही गर्न सुरु गरेकाे हाे ।
प्रहरीले गन्तव्य लंग एन्ड बारका सञ्चालकसहित दुईजनालाई पक्राउ गरी मुद्दा चलाएको बताएकाे छ । बिहीबार बिहानको राति २ बजेतिर प्रहरीले गन्तव्यका सञ्चालक निर्भीक शिवाकोटी र सुरक्षागार्ड अमिन राईलाई पक्राउ गरेको थियो । दुवै जनालाई अदालतबाट म्याद थपको अनुमति लिई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको प्रहरी स्रोतले जनाएको छ ।
मुद्दा चलाइएका शिवाकोटी भने बीएण्डसी अस्पतालमा उपचाररत रहेका छन् । अस्वस्थ भएपछि उनलाई अस्पतालमा लैजान अनुमति दिइएको प्रहरीले जनाएको छ । बिर्तामोडमा आधा दर्जनभन्दा बढी डान्सबार रहेका छन् ।
प्रहरी प्रशासनले राति ११ बजेसम्म डान्सबार सञ्चालन गर्न पाउने गरी समय तोकिदिएको छ । तर, बिर्तामोडका डान्सबारहरुले रातभरि सञ्चालन गरेर विकृति फैलाएकाे आराेप प्रहरीकाे रहेकाे छ ।



















