झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको विवाद हिंसात्मक बन्दा दुवै जना गम्भीर घाइते भएका छन्।
आज दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच घरायसी विवादका क्रममा झै–झगडा भएको प्रहरीले जनाएको छ। विवादका क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको छ।
घटनापछि धनबहादुरले घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। उनलाई छोरी २५ वर्षीया प्रियंका दर्जीले झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर उद्धार गरेकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएको जनाएको छ।
हाल दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




















