झापा। झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको घरायसी विवादले दुःखद अन्त्य लिएको छ। खुकुरी प्रहार र आत्महत्याको प्रयासपछि दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच विवाद हुँदा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए। प्रहारबाट विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो।
घटनापछि धनबहादुरले घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। उनलाई छोरी २५ वर्षीया प्रियंका दर्जीले देखेपछि पासो काटेर भुइँमा झारेकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर दुवै घाइतेलाई तत्काल दमक अस्पताल पुर्याएको थियो।
अस्पतालमा उपचारका लागि पुर्याइएपछि दिउँसो करिब ३ः३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पतालमै राखिएको जनाएको छ।
घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




















