बिर्तामोड । झापाको कनकाई नगरपालिका–३ मा ९ वर्षीय बालकलाई फकाएर कानमा लगाएको सुनको कुण्डल लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार २४ गते साँझ करिब ६ बजे कनकाई–३ निवासी जय राम श्रेष्ठका ९ वर्षीय छोरा प्रजन श्रेष्ठ घर नजिकै खेलिरहेका बेला दुई जना अपरिचित व्यक्तिले फकाएर उनले लगाएको दुई आनी बराबरको सुनको कुण्डल दुई थान लुटेर फरार भएका थिए।
घटनापछि बालकका बुवाले असार २५ गते इलाका प्रहरी कार्यालय सुरुङ्गामा लिखित उजुरी दिएका थिए। उजुरीपछि प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान गर्दा घटनामा कनकाई–५ बेनुवाजा टोलकी ३६ वर्षीया बिमला पाँचकोटी र उनका बहिनी ज्वाइँ शिवसताक्षी–९ निवासी ३० वर्षीय ‘बिजु’ भनिने विजय दर्जीको संलग्नता खुलेको थियो।
त्यसपछि प्रहरीले असार २५ गते राति बिमला पाँचकोटीलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो। तर, लुटिएको सुन भने उनीबाट बरामद हुन सकेन। फरार रहेका विजय दर्जीलाई असार २७ गते बिहान कनकाई–३ कृषि बजार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















