बिर्तामोड । झापामा घरेलु विवादका क्रममा एकजनाले चक्कु प्रहार गरेर आमा र श्रीमतीलाई घाइते बनाएका छन् ।
गौरीगञ्ज गाउँपालिका–४ वैसीटोलमा सोमबार राति २७ वर्षीय रामु खड्काले मादक पदार्थ सेवनपछि घरायसी विवादका क्रममा आफ्नी ६० वर्षीया आमा मधु खड्का र २४ वर्षीया श्रीमती आस्मिता खड्कामाथि चक्कु प्रहार गरेका हुन्।
प्रहरीका अनुसार मधु खड्काको बायाँ हातमा चोट लागेको छ भने आस्मिता खड्काको कोखामा चोट लागेको छ। दुवैको अवस्था बोल्न सक्ने रहेको र गौरीगञ्ज आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि खड्का फरार भएका छन्। उनको खोजीका लागि इलाका प्रहरी कार्यालय खजुरगाछीबाट प्रहरी निरीक्षक कृष्ण पोखरेलको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
यता, अर्जुनधारा नगरपालिका–३ डाँडागाउँमा आइतबार ४३ वर्षीय कुमार बराइलीले मादक पदार्थ सेवन गरी परिवारका सदस्यलाई खुकुरी देखाउँदै ‘काट्छु, मार्छु’ भन्दै धम्क्याएको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो।
अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट प्रहरी सहायक निरीक्षक प्रकाश मेहताको नेतृत्वमा पुगेको टोलीले बराइलीलाई खुकुरीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ। दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















