बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगान क्षेत्रबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार साँझ करिब ७:३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक निर्मल श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका चार जनालाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा बिर्तामोड–७ गरामनी निवासी २८ वर्षीय राम किस्कुले लगाएको जिन्स पाइन्टको गोजीमा प्लास्टिकमा पोको पारेर ल्याउँदै गरेको ब्राउन सुगर फाल्ने प्रयास गरेका थिए। घटनास्थलबाट १ ग्राम २४० मिलिग्राम र १ ग्राम ८८० मिलिग्राम गरी जम्मा ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बिर्तामोड–८ किशनभिट्टाका लखन वास्के, बिर्तामोड–७ गरामनीका राम किस्कु, सुफल मुर्मु तथा बिर्तामोड–७ खाँदबारीका रमेश उप्रेतीलाई नियन्त्रणमा लिएको छ।
उनीहरूलाई बरामद लागूऔषधसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।
















