झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा पाँच परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको जिल्ला भूमि समस्या समाधान समिति, झापाले आइतबार बुद्धशान्ति गाउँपालिका–३ बुधबारेस्थित गाउँपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमाण–पुर्जा हस्तान्तरण गरेको हो।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत करिब ४० जनाको उपस्थिति रहेको थियो।

यस अवसरमा बुद्धशान्ति गाउँपालिका–४ जुनेली बस्तीका पाँच जनाले जग्गाधनी दर्ता प्रमाण–पुर्जा प्राप्त गरेका छन्। प्रमाण–पुर्जा प्राप्त गर्नेहरूमा अनिता मगर, पुष्पा थापा मगर, हरिप्रसाद ज्ञाङ्मी मगर, सोनु लिम्बु र आकृति तामाङ रहेका छन्।

कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान गर्दै वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिइएको थियो।