झापा । इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजार क्षेत्रमा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरेर नेपालतर्फ ल्याइँदै गरेको मदिरासहित पिकअप गाडी नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय नयाँबजारबाट प्रहरी वरिष्ठ हवल्दार लक्ष्मण बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले फिक्कलबाट नयाँबजारतर्फ आउँदै गरेको बा ७ च २२५१ नम्बरको पिकअप रोकी जाँच गर्ने क्रममा विभिन्न ब्रान्डका मदिरा बरामद गरेको हो।
प्रहरीका अनुसार पिकअपबाट हनीबी रम २२ कार्टुन, ओल्ड मन्क रम १ कार्टुन, सिक्किम गोल्डेन मेलन ब्रान्डी १५ कार्टुन र हिट बियर ३३ कार्टुन बरामद गरिएको छ। बरामद मदिराको अनुमानित मूल्य २ लाख ७९ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनामा पिकअप चालक इलाम माईजोगमाई गाउँपालिका–१ निवासी २२ वर्षीय लिला कुमार निरौलालाई पनि नियन्त्रणमा लिइएको छ।
बरामद मदिरा, पिकअप गाडी र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमार्फत पशुपतिनगर भन्सार कार्यालय, इलाम पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।




















