मेचीनगर । झापाको काँकरभिट्टामा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेको अवैध माछा तथा विभिन्न सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार साँझ करिब ५ बजे मेचीनगर–६ स्थित भन्सार ढाट क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेक्वा काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले ८३ केजी रहु जातको माछा बरामद गरेको हो। बरामद गरिएको माछाको अनुमानित मूल्य २४ हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको माछा स्थानीय भद्रभलाद्मीको रोहवरमा गुल्म परिसरभित्र खाडल खनी नष्ट गरिएको जनाइएको छ।

यसैगरी, साँझ करिब ६:३० बजे मेचीनगर–६ हनुमान मन्दिर क्षेत्रमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको विभिन्न सामान बरामद गरेको छ।

बरामद सामानमा २४ थान छालाका बेल्ट, ७० वटा छालाका पर्स, २५ किलो चिनी र २५ किलो दाल रहेका छन्। बरामद सामानको अनुमानित मूल्य ५४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।