झापा। भारतबाट नेपालतर्फ शिशुको डायपरभित्र लुकाएर ब्राउन सुगर ल्याउँदै गरेका दम्पतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाअन्तर्गत वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक निर्मल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शुक्रबार साँझ करिब ५:१५ बजे भद्रपुर नगरपालिका–५ बसपार्क क्षेत्रमा जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला वडा नं. १२ घर भई हाल बिर्तामोड नगरपालिका–५ बस्दै आएका करिब ३० वर्षीय मोहित आलम, उनकी श्रीमती करिब ३२ वर्षीया जेनेतुन खातुन, उनीहरूका दुई महिनाका छोरा सोहेल आलम तथा सोही अटोमा सवार करिब ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा दुई महिनाका शिशुले लगाएको डायपरभित्र प्लास्टिकमा बेरेर लुकाइएको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लास्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम रहेको छ।
प्रहरीले अटोसहित चारै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















