झापा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित लक हटिया चोकमा रहेको शिव मन्दिरमा हिन्दू समुदायले डिजे बजाउने विषयलाई लिएर आइतबार राति दुई समुदायबीच झडप भएको छ। घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्राप्त प्रारम्भिक जानकारीअनुसार झडपपछि स्थिति तनावग्रस्त बनेपछि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सीमा सुरक्षा गुल्म तथा बोर्डर आउटपोस्ट (बीओपी) बाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। थप सुरक्षाका लागि नं. १ बराह बाहिनी, नं. ३७ रिजर्भ गण तथा अन्य युनिटबाट समेत टोली खटाइएको छ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ६ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै केही राउण्ड हवाई फायर गरेको जनाइएको छ।

झडपका क्रममा सशस्त्र प्रहरी बल बीओपी साहेबगञ्जका सवारी चालक सशस्त्र प्रहरी सहायक हवल्दार विष्णुबहादुर बस्नेत टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

घटनामा देवानगञ्ज गाउँपालिका–४ निवासी २४ वर्षीय ओमप्रकाश मेहेताको मृत्यु भएको छ। साथै अमित कुमार यादव (२०), अमलेश मेहेता (१८), जयप्रकाश मेहेता (२२), मियलेश मेहेता (१८) र हरेराम यादव (२८) घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

यसैबीच झडपपछि केही हिन्दू समुदायका व्यक्तिहरूले मुस्लिम समुदायका घरमा तोडफोड गरेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान तथा तथ्य संकलन गरिरहेको जनाएको छ।