धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा हाइड्रोपावरको सामान बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

गएराति करिब ८ः३० बजे विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भई सडकबाट चिप्लिएर नालातर्फको भित्तामा ठोक्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा परी भोजपुरका ३० वर्षीय चालक विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको हो।

ट्रकमा सवार तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सहचालक सञ्जीव सङ्ग्रौला भने सकुशल रहेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएको थियो। नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा राति ९ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।