झापा — मेचीनगर नगरपालिका–६ स्थित अरुणोदय माध्यमिक विद्यालयमा कार्यरत एक महिला शिक्षक मृत अवस्थामा फेला परेकी छन्। मृतक सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविता कुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कविता कुमारी र उनका श्रीमान् पर्साको वीरगञ्ज उपमहानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्ता गत वैशाख महिनादेखि सोही विद्यालयको एक कोठामा बस्दै अध्यापन गर्दै आएका थिए।
साउन ५ गतेदेखि विद्यालय बिदा रहेको र साउन ११ गते विद्यालय सञ्चालन हुँदा दुवै जना विद्यालयमा उपस्थित नभएको पाइएको थियो। उनीहरू बस्ने कोठामा ताल्चा लागेको र फोन सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेपछि विद्यालय प्रशासनले खोजी थालेको थियो।
सोही दिन अपराह्न विद्यालयका प्रिन्सिपलको मोबाइलमा रतन गुप्ताले सन्देश पठाउँदै श्रीमतीलाई किचन रुममा झुण्डिएको अवस्थामा फेला पारेको, पासो काटेर सुत्ने कोठामा ल्याउँदा मृत्यु भइसकेको र डरका कारण आफू शव छाडेर भागेको उल्लेख गरेका थिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक जस बहादुर लिम्बुको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा कोठाको ताला खोली हेर्दा महिलाको शव खाटमा उत्तानो अवस्थामा दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको र फरार रहेका श्रीमान् रतन गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















